धादिङ, ०९ जेठ ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नं. १ स्थित लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा संचालित पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको हो।
तालिममा चौँरी, भेडा र बाख्रा पालन गर्दै आएका रुविभ्याली क्षेत्रका ३० जना किसानहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा किसानहरुले तालिमबाट सिकेका सीपलाई प्रयोग गरेर आगामी दिनमा व्यावसायिक पशुपालनमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
साथै, लेकाली पशुपालन संरक्षण र व्यावसायिक प्रवद्र्धनका लागि सहभागी किसानहरूमध्ये वि.बहादुर तामाङको अध्यक्षतामा “चौँरी पालन समूह“, सेर बहादुर तामाङको अध्यक्षतामा “भेडा पालन समूह“ र ए.बहादुर तामाङको अध्यक्षतामा “बाख्रा पालन समूह“ गठन गरिएको छ ।
तालिमका क्रममा सहभागीहरुले दुईवटा भेडा फार्म र एउटा चौँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए । खर्क व्यवस्थापन, पशुपालनमा देखिने समस्याहरु, पशु रोग तथा तिनको व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो। तालिमको सहजीकरण विष्णु प्रसाद आचार्य, उमेश घले र सुनिल सापकोटाले गर्नुभएको थियो ।
हाल रुवीभ्याली क्षेत्रमा झण्डै ८ हजार भेडा, ३ सय चौँरी, १० याक र १७ नाक रहेको तथ्यांक सार्वजनिक गरिएको छ । सहभागी किसानहरुले यी पशुहरूलाई संरक्षण गरी आयआर्जनको मुख्य स्रोत बनाउने लिखित प्रतिबद्धता जनाएका छन्।
डिभिजन वन कार्यालयका प्रमुख आचार्यले तालिम उत्साहजनक र सहभागितामूलक रहेको बताउँदै आगामी दिनमा कृषि तथा पशु विकास कार्यालयहरूसँग समन्वय गरी किसानहरूको जिविकोपार्जनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तालिम डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |